एक दिन मलाई शिक्षकले सोध्नुभयो, तिमी नारी भएकीमा कस्तो महसुस गर्छौ ? त्यो बेला सानै थिएँ । मेरो सानो दिमागले केही ठूला-प्रतिष्ठित अनुहारहरू पासाङल्हामु शेर्पा, पारिजात, फ्लोरेन्स नाइटेङ्गल र मदर टेरेसालाई सम्झियो । अनि मस्कुराउँदै भनें, म नारी हनुमा गर्व गर्छु सर ।
अहिले मलाई आफैंसगँ पुन: प्रश्न सोध्न मन लागेको छ, साँच्चै म नारी हुनुमा कस्तो महसुस गर्छु ? उत्तरमा म सम्झन्छु- मानसिक र शारीरिक पीडाबाट दैनिक बच्दै र बाँच्दै गरेका नारीहरू । सम्झन्छु, एसिडले बिगि्रएका अनुहारहरू । सम्झन्छु आफ्नै दाजभाइ, बुवा, काकाबाट लुटिएका अस्मिताहरू । र, सम्झन्छु मदर टेरेसाजस्ता सुपर हिरोहरू । यो अवस्थामा म मस्कुराऊँ या दु:खी बनूँ ? मानसिक द्वन्द्वमा छु । उत्तर खै के दिऊँ आफैंलाई ?
यहाँ नारी हुर्कदै गर्दा बाँच्ने तरिका छुट्टै सिकाइन्छ । पुरुषलाई बेग्लै सिकाइन्छ । नारीलाई नरम, संवेदनशील तर पुरुषलाई बलियो बन्न भनिन्छ । आँसुले नारीलाई शोभा दिन्छ अरे ! तर पुरुष रुनसम्म हुन्न अरे ! नारी भएर जहाँ पायो त्यहाँ हिँड्न हुन्न अरे । पुरुषसँग बोल्ने र हाँस्ने मापदण्डसमेत तोकिन्छ ।
यो २१औं शताब्दीमा पनि एउटी नारीलाई सुरक्षाका निम्ति नानाभाँती सूत्रहरू रटाइन्छ । तर पुरुषलाई नारीको सम्मान गर्नुपर्छ भनी कमै सिकाइन्छ । पुरुष भएर रुन हुन्न भनी सिकाइन्छ, तर उसलाई पुरुष भएर अरूलाई रुवाउन हुन्न भनेर बताइन्न ।
मलाई नयाँ-नयाँ ठाउँहरू घुम्न अति मन पर्छ । घुमिरहेकी पनि हुन्छु । तर जब घर र्फकने बेला अबेला भइदिन्छ, बाटोको भन्दा बढी डर घरकै लाग्छ । घर पुगेपछि आमाले सोध्नुहन्छ, कहाँ गएर आएकी ? समय ठीक छैन, आउने बेला यही हो ? म प्राय: चुपचाप आनो कोठामा आएर बस्छु । कहिलेकाहीँ त सोधिदिन्छु, दाइ ढिला आउँदा केही नभन्ने, मलाई मात्र किन ? जवाफ आउँछ, किनकि, त छोरी होस् नि त ।
संसारमा हामी नारीको संख्या ५० प्रतिशत छ । तर हामी आफ्नो पक्षमा राम्ररी उभिन सकेका छैनौं । आफ्नो हिसाबले बाँच्न, बोल्नसमेत डराएका छौं । गल्ती कसको ? विभिन्न सूत्र सिकाउने यो समाजको कि, आफूलाई कमजोर सम्झिरहने हामी नारीकै ? यतिबेला फेरि म पारिजात, मलाला, मदर टेरेसाजस्ता नारी प्रतिभा सम्झन्छुु अनि हषिर्त हुन्छु । ओठमा मुस्कान छाउँछ र नारी भएकोमा फेरि गर्व गर्छु । तर जब फेरि कुनै अर्की नारीको पीडा खबर बनेर छाउँछ, अनि म निराश हुन्छु । यस्तो बेला लाग्छ, अब मलाई कसैले फेरि अर्को प्रश्न नगरोस्, तिमी नारी भएकीमा कस्तो महसुस गर्छौ ? किनकि मसँग ठ्याक्कै जवाफ छैन ।
कान्तिपुर 'काेसेली'मा प्रकाशित: चैत्र ६, २०७१



